२३ फागुन, काठमाडौ । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले १८ किलोमिटर लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइन खण्डको काम फास्टट्रयाकमा अगाडि बढाउने निर्णय गरेको छ ।
एमसीए–नेपाल सञ्चालक समितिको २१ फागुनमा बसेको ४०औं बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि एमसीए नेपालअन्तर्गतको ३ सय १५ किलोमिटर लामो प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माणको तयारी गरिएको थियो । तर, त्यसरी निर्माण गर्दा क्रसबोर्डर प्रसारण लाइन निर्माणमा ढिलाइ हुने चिन्ता नेपाल विद्युत् प्राधिकरणले गर्दै आएको थियो । त्यो प्रसारण लाइन चाँडो सम्पन्न होस् भन्ने उद्देश्यले १८ किलोमिटर खण्डलाई छुट्टै कार्यान्वयन गर्ने निर्णय गरेको हो ।



