काठमाडौँ — सरकारले लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन गर्न सहुलियत नै सहुलियत दिने नीति ल्याउने तयारी थालेको छ । तुलनात्मक लाभ भएका वस्तुको उद्योग तथा उद्यमशीलता सन्तोषजनक नभएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन नीति ०८०’ ल्याएर यस्ता उद्योगलाई प्रोत्साहन गर्न खोजेको हो ।
मन्त्रालयले तयार पारेको नीतिको मस्यौदामा मुख्य तीन उद्देश्य छन् । ‘स्वदेशी कच्चा पदार्थ उपयोग गरी लघु, घरेलु तथा साना उद्योगका माध्यमबाट कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान बढाउने, बृहत्तर आर्थिक समावेशिता तथा उद्यमशील संस्कृतिको विकास गर्दै स्वदेशमै रोजगारी तथा स्वरोजगारीका अवसर सिर्जना गरिनेछ,’ उद्देश्यमा भनिएको छ, ‘निर्यातयोग्य वस्तु उत्पादन गर्ने लघु, घरेलु तथा साना उद्योगको विकास तथा प्रवर्द्धन गर्दै आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गरिनेछ ।’ यी उद्देश्य पूरा गर्न रणनीति र कार्यनीतिसमेत तयार पारिएको छ ।


