सरकार तेस्रो लगानी सम्मेलनको तयारीमा जुटेको छ । सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालका आयोजनामा लगानी आह्वान गर्न आगामी वि.सं. २०८१ वैशाख ९ र १० गते काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन गर्ने तयारी गरेको छ । सरकारले अबको पाँच महिनामा सम्मेलन गर्ने सोच बनाइरहँदा त्यसको पूर्वतयारीका काम कति चुस्त हुन्छन् र सोचेअनुरूप उपलब्धि हासिल होला कि नहोला भन्नेमा सबैको चासोको विषय बनेको छ ।
जानकारहरू भन्छन्, लगानी सम्मेलन आवश्यक छ तर त्यसका लागि पर्याप्त आन्तरिक तयारी जरुरी छ । लगानी आकर्षित गर्न चाहिने नीतिगत र कानुनी सहजता, सहज सेवाप्रवाहमार्फत आन्तरिक वातावरण निर्माण, झन्झटमुक्त प्रशासनिक र कर संरचना, बजार सुनिश्चिततासहित लगानी प्रतिफलको प्रत्याभूति, शो–केसमा राखिने आयोजनाको पूर्वतयारी लगायत विषयलाई सरकारले राम्ररी सम्बोधन गर्नुपर्छ र लगानीकर्तालाई विश्वस्त तुल्याउनुपर्छ । लगानी सम्मेलनको तयारी गर्दै गर्दा कृषिको विकासमा सरकारले देशमा प्रत्यक्ष वैदेशिक लगानी भित्यार्उन के–कस्ता आयोजनाहरूमा विदेशी लगानी आकर्षित गर्न खोजेको छ भन्ने स्पष्ट हुनुपर्छ ।



