काठमाडौं । नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्न बंगलादेश सरकार सहमत भएको छ । विद्युत् किनबेचका लागि आगामी महीना दुई देशका अधिकारीबीच सम्झौता हुने बताइएको छ । बंगलादेशका ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले बंगलादेशले छिमेकी मुलुकबाट ९ हजार मेगावाट बिजुली आयात गर्ने तयारी गरिरहेको जानकारी दिँदै नेपालबाट ४० मेगावाट आयात गर्न अर्को महीना सम्झौता हुने सम्भावना रहेको बताएका छन् ।
बंगलादेशी सञ्चारमाध्यमका अनुसार हमिदले बंगलादेशस्थित भारतीय उच्च आयोगका प्रणय बर्मासँगको भेटवार्ताका क्रममा नेपालबाट विद्युत् आयात गर्ने प्रक्रियामा थप प्रगति भएको बताएका हुन् । भेटवार्ताका क्रममा बंगलादेश र भारतले ऊर्जाक्षेत्रको विकासका लागि मिलेर काम गर्ने ठूलो अवसर रहेको बताउँदै नसरुलले भने, ‘हामी छिमेकी मुलुकबाट ९ हजार मेगावाट बिजुली आयात गर्न चाहन्छौं । नेपाल र भुटानबाट जलविद्युत् ल्याउने प्रक्रियामा राम्रो प्रगति भएको छ ।’


