काठमाडौं– गुडविलको आधारमा धेरै कर्जा प्रवाह भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित ११ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले गुडविलको आधारमा धेरै कर्जा प्रवाह गरेको पाइएकाले उनीहरूमाथि अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको बताएका छन् ।
सीआईबीले तत्कालीन सेञ्चुरी कमर्सियल बैंकले ऋण प्रवाहमा हिनामिना गरेको आरोपमा उनीहरूलाई पक्राउ गरी बुधबारबाट बयान लिइरहेको जनाएको छ । यस प्रकरणमा सहकारीका सञ्चालक रवीन्द्र चौलागाईंलाई १ अर्ब १४ करोड रुपैयाँ धितोको मूल्यांकन गरेर २ अर्ब ११ करोड कर्जा प्रवाह भएको पाइएपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान गरिएको हो ।



