काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक गिरीले देशभरका सहकारी पीडितहरुलाई न्याय दिलाउन माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सहकारी पीडितहरुलाई न्याय दिलाउने जिम्मा सरकारको भएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
‘अहिले नेपालमा ३१ हजार भन्दा बढी सहकारीहरुमा झण्डै १४ लाख सदस्यले खाइ नखाई बचत गरेको रकम डुबेको गुनासो गरिरहेका छन् । सहकारी पीडितहरुलाई न्याय दिलाउने जिम्मा पनि सरकारको हो । उनीहरुको बचत फिर्ता गराईयोस् ।’ उनले भने ।
त्यस्तै, उनले ग्यालेक्सी टीभीका अध्यक्ष रहेको जीबी राई समूहले पोखराका १८ हजार बढी बचतकर्ताको १ अर्ब ३५ करोड रकम हिनामिना गरेको बताए । त्यसैगरी, पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गैरकानुनी रूपमा ऋण लिई अपचलन गरेको समेत उनले बताए ।



