काठमाडौं : युरोपेली बैंकहरुले सन् २०२३ मा कमाएको नाफाबाट १ खर्ब २० अर्ब डलर प्रतिफल सेयरधनीहरुलाई वितरण गर्ने तयारी गरेका छन् । गत वर्ष बढ्दो ब्याजदरका कारण बैंकहरुलाई राम्रो फाइदा भएको थियो । युरोपेली बैंकहरुले उक्त फाइदा प्रतिफलमार्फत लगानीकर्ताहरुलाई नै फिर्ता गर्ने तयारी गरेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ ।
युरोपेली बैंकहरुका व्यवस्थापकहरुलाई आफ्नो कम्पनीको भ्याल्यू बढाउन र हालैका वर्षहरुमा युरोपले लगाएको लाभांश प्रतिबन्ध तथा करबाट त्रसित बनेका लगानीकर्ताहरुको मन जित्न दबाब रहेको छ । जसका कारण युरोपका बैंकहरुले नगद लाभांश र सेयर बाई ब्याकलाई प्रमुख हतियार बनाउन थालेका छन् । युरोपका सबैभन्दा ठूला सूचीकृत बैंकहरुले ७४ अर्ब डलर लाभांश र ४७ अर्ब डलरको सेयर बाइ ब्याक गर्ने वाचा गरिसकेका छन् ।



