काठमाडौं- नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्र सडकबाट आउने दबाबले अफ्ठ्यारो अवस्थामा रहेको बताएका छन् । सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था र आगामी बाटो’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष केसीले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु सडकबाट नै चल्ने अवस्था आएको गुनासो गरे ।
उनले नेपाली बैंकहरुमा कुनै पनि समस्यामा नभएको दाबी गर्दै त्यस्ता हल्ला र गलत प्रचारको पछि नलाग्न सबैलाई आग्रह गरे । उनले बैंकहरू सबल अवस्थामा रहेको भन्दै अहिलेको अवस्थामा कुनैपनि बैंक डुब्ने अवस्था नभएको दाबी गरे । उनले डक आन्दोलनमार्फत बैंकको ऋण नतिर्ने भन्ने दबाब भइरहेको बताए । उनले बैंक तथा वित्तीय उद्योगलाई अफ्ठ्यारो अवस्थामा सरकारबाट पाउनुपर्ने सहयोग र समर्थन पाउन नसकेको दाबी गरे । उनले बैंकहरु सबै डुब्न थाले, खतम हुन थाले भन्ने हल्लाले भएपनि बैंकहरु पारदर्शी र सवल रहेको बताए ।


