मर्जर/एक्युजिशनमा दिएको कर छुट असुल उपर गर्न मध्यमस्तरीय करदाता कार्यालयले नेप्सेसँग विवरण माग्यो, यी हुन् विवरण मागिएका कम्पनी


  • Himalayan Bank Limited (HBL)
मर्जर/एक्युजिशनमा दिएको कर छुट असुल उपर गर्न मध्यमस्तरीय करदाता कार्यालयले नेप्सेसँग विवरण माग्यो, यी हुन् विवरण मागिएका कम्पनी

मर्जर/एक्युजिशनमा दिएको कर छुट असुल उपर गर्नु पर्ने निर्णय गरेको सरकारले सरोकारवाला नेपाल स्टक एक्सचेन्ज(नेप्से)संग विवरण उपलब्ध गराइदिन पत्र लेखेको छ। मध्यमस्तरीय करदाता कार्यालय बबरमहल काठमाडाैंले पत्र लेखेको हो।

कार्यालयको बैंक, फाइनान्स तथा कर फिर्ता उपशाखाले सो पत्र नेप्सेलाई लेखेको छ। कार्यालयले लेखेको पछिल्लो पत्रमा सात कम्पनीको विवरण उपलब्ध गराइदिन भनेको छ। जसमा मर्जरमा गएका पाँच कम्पनीको विवरण मागिएको छ भने दुई कम्पनीको प्राप्तिको विवरण कार्यालयले मागेको छ। तत्कालीन एनआरएन, रामा रोशन र क्रिएटिभ लघुवित्तको मर्जरको विवरण छ भने प्राइम बैंकले र कन्काइ विकास बैंकलाई प्राप्ति गरेको विवरण माग गरिएको छ। एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकको मर्जरको विवरण माग गरिएको छ भने साइन रेसुङ्गाले पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई प्राप्ति गरेको विवरण मागिएको छ। तिनाउ मिसन विकास बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको विवरण माग भइ आएको नेप्सेले जनाएको छ।

त्यसैगरि ओमी लघुवित्त संस्था र नागरिक लघुवित्त संस्थाबीच भएको मर्जर र सारथि लघुवित्त संस्था र सत्यवती लघुवित्त संस्थाबीच भएको मर्जरको विवरण समेत मागिएको नेप्सेको भनाइ छ।

कार्यालयले पत्रमा “प्रस्तुत विषयमा तहाँ लिमिटेडमा सूचीकृत विभिन्न कम्पनीहरूको शेयर त्यस लिमिटेड अन्तर्गत रहेका विभिन्न धितोपत्र दलाल व्यवसायी मार्फत विक्री गर्ने क्रममा आ.व.२०७६/७७ वा सोभन्दा अघिका मितिमा विभिन्न निकायहरू/कम्पनीहरू एक आपसमा गाभिएको मितिमा कायम रहेका शेयरधनीहरू मध्ये गाभ्ने निकायका कायम रहेका शेयरधनीहरूले गाभिएको मितिले दुई (२) वर्ष भित्र शेयर विक्री तथा पूँजीगत लाभकर सम्बन्धी विवरण आवश्यक भएकोले सो अवधिमा गाभिएका निकायहरू मध्ये देहायबमोजिमका निकायहरू एक आपसमा गाभिएर एकीकृत कारोबार सुरु गरेको मिति पछि उक्त बैंक/वित्तीय संस्थाका शेयरधनीहरू मध्ये गाभ्ने निकाय (साबिकको बैंक/वित्तीय संस्था) मा कायम रहेका शेयरधनीहरूले गाभिएको मितिले दुई (२) वर्ष भित्र विक्री गरेको शेयरको विवरण तपसिल बमोजिमको ढाँचामा पत्र प्राप्त भएको मितिले १५ (पन्ध्र) दिन भित्र आयकर ऐन, २०५८ को दफा ८३ बमोजिम उपलब्ध गराइदिनु हुन निर्णयानुसार अनुरोध छ,” भनिएको छ।

Read More