प्रबन्ध सञ्चालक, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड
राजा महेन्द्र शाहले वि.सं. २०२८ सालमा ‘नयाँ शिक्षा’ लागु गरेपछि देशमा थप विद्यालयहरू खोल्ने काम तीव्र पारियो । विद्यालय त खोलियो, तर विद्यार्थीलाई पढाउने पाठ्यपुस्तक व्यवस्थापन गर्न नसके पञ्चायती राजाले लागू गरेको ‘नयाँ शिक्षा’ असफल हुन सक्थ्यो । त्यसैको निरन्तरतामा महेन्द्रका उत्तराधिकारी राजा वीरेन्द्र शाहले २०३५ असोज ८ गते जनक शिक्षा सामग्री केन्द्र स्थापना गराए ।
त्यसो त वि.सं. २०२८ मा राजा महेन्द्रकै पालामा ल्याइएको शिक्षा ऐन नै हालसम्म कार्यान्वयनमै छ । राजनीतिकमात्र होइन, शैक्षिक र आर्थिक कोणले पनि जनक शिक्षाको स्थापना नेपालको छापाखाना इतिहासमा महत्वपूर्ण कोशेढुंगा थियो । तर, बहुदल स्थापना भएपछि चरम राजनीतिकरण र अनियमितताले जनक शिक्षा सामग्री केन्द्र धराशायी बन्दै गयो । पछिल्लो केही वर्षदेखि भने जनक शिक्षा केही बौरिएको छ । आन्तरिक व्यवस्थापनमा गरिएको सुधारले समग्र संस्थानकै गति बढाइदिएको छ । यसको नेतृत्व प्रबन्ध सञ्चालक अनिलकुमार झाले गरिरहेका छन् । थप केही आकारको व्यवसाय पाए र सरकारले पहलकदमी लिएर राहदानी र पासपोर्टजस्ता सुरक्षण मुद्रणसमेत गर्न जनक शिक्षा तयार रहेको उनी बताउँछन् ।



