काठमाडौं : बैंकर, सञ्चालक तथा नियामक निकाय नेपाल राष्ट्र बैंकको प्रतिनिधिले नेपालको बैंकिङ प्रणालीमा समस्या नरहेको दाबी गरेका छन्। सीमित स्वार्थ समूहले बैंकको प्रणाली लक्षित प्रहार गरेकामा गलत हल्ला फैलाएर बैंकिङ क्षेत्रमाथि प्रहार गर्नु उपयुक्त नभएको तर्क उनीहरूले गरेका हुन्। यस्तो हल्ला चिर्न मिडिया र सरकारले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने भनाइ उनीहरूको छ।
सरकारी ऋणपत्रमा गरेको लगानीका साथै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसमेत गर्दा बैंकहरूसँग १७-१८ खर्ब तरल सम्पत्ति छ। यसले बैंकिङ प्रणालीसमेत कुनै पनि बैंकमा समस्या नरहेको देखिन्छ। बैंकहरूले सरकारी ऋणपत्र र बन्डहरूमा साढे १२ खर्बभन्दा बढी लगानी गरेका छन्। यसबाहेक सीआरआर र एसएलआरसमेत छ। पछिल्लो समय बैंकहरू डुब्ने लागेको केही व्यक्तिको अभिव्यक्तिले सर्वसाधारण निक्षेपकर्ता आत्तिएका भए पनि बैंकहरूसँग औसतमा निक्षेपको २८ प्रतिशतभन्दा धेरै खुद तरल सम्पत्ति रहेकाले कुनै पनि बैंकमा समस्या नरहेको देखिन्छ।



