काठमाडौं : बैंकिङ प्रणालीमा निक्षेप थुप्रिँदा र कर्जाको माग नहुँदा लगानीयोग्य पुँजी (तरलता) पर्याप्त छ। यसो हुँदा बैंकहरूले निक्षेपको ब्याजदर पछिल्ला महिना घटाउँदै आएका छन्। परिणामस्वरूप गत असोजमा दोहोरो अंकमा भएको निक्षेपको ब्याजदर एकल अंकमा झरेको छ।
सञ्चालनमा रहेका वाणिज्य बैंकहरूकै व्यक्तिगत मुद्दती निक्षेप औसत ७.७७ प्रतिशतमा सीमित भएको छ। जबकि ६ महिनाअघि गत असोजमा मात्रै औसत मुद्दती निक्षेपको ब्याजदर १०.२३ प्रतिशत थियो। यसपछिका महिनामा क्रमशः घट्दै कात्तिकमा औसत ९.९६ प्रतिशत, मंसिरमा ८.९९, पुसमा ८.१६ र माघमा ७.७७ प्रतिशतमा झरेको छ। अब सोहीदरले निक्षेप दर घटिरहँदा संस्थागत निक्षेपलाई कम ब्याज हुने गरेको थियो। तर, अब भने संस्थागत निक्षेपकर्तालाई खुसीको खबर छ। यसअघि संस्थागत निक्षेपको ब्याजदर व्यक्तिगत निक्षेपकर्ताको भन्दा २ प्रतिशत बिन्दु कम हुनुपथ्र्यो। अब आगामी चैत्रदेखि भने संस्थागत निक्षेपको ब्याजदर एक प्रतिशत बिन्दुमात्रै कम गरे हुने भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै संस्थागत निक्षेपमा लचकता देखाएको हो। ब्याजदर घटिरहेकाले संस्थागत निक्षेपकर्ता बढी मर्कामा परेकाले पनि राष्ट्र बैंकले यसअघिको २ प्रतिशत बिन्दुको फरकलाई झारेर १ प्रतिशतमा कायम गरेको बताएको छ।



