संस्थागत निक्षेपको ब्याजदर बढ्ने बाटो खुल्यो


  • Himalayan Bank Limited (HBL)
संस्थागत निक्षेपको ब्याजदर बढ्ने बाटो खुल्यो

काठमाडौं  । आगामी चैतदेखि संस्थागत निक्षेपको ब्याजदर बढ्ने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा व्यक्तिगत र संस्थागत निक्षेपको ब्याजदर अन्तर १ प्रतिशत बिन्दु कायम गर्ने घोषणा गरेको थियो । आगामी चैत १ बाट उक्त घोषणाअनुसारको व्यवस्था गर्न केन्द्रीय बैंकले बैंक, वित्तीय संस्थालाई बिहीवार सर्कुलर गरेको हो । यससँगै संस्थागत निक्षेपको ब्याजदर बढ्ने स्थिति बनेको हो । 

‘संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत)मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम हुनुपर्नेछ,’ राष्ट्र बैंकको परिपत्रमा भनिएको छ । हालसम्म व्यक्तिगतभन्दा संस्थागत मुद्दती निक्षेपको ब्याजदर कम्तीमा २ प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था छ । 

बीमा कम्पनी, नागरिक लगानी कोष, सैनिक कोष, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतको संस्थागत निक्षेप तान्न बैंक, वित्तीय संस्थाबीच प्रतिस्पर्धा हुन थालेपछि केन्द्रीय बैंकले यसमा नियन्त्रण गर्न ब्याजदर अन्तरको प्रावधान कार्यान्वयनमा ल्याएको हो । केन्द्रीय बैंकले २०७४ सालमा सार्वजनिक रूपमा प्रकाशित निक्षेपको ब्याजदरभन्दा संस्थागत निक्षेप बोलकबोलमा २ प्रतिशत विन्दुभन्दा बढी ब्याजदर बोलकबोल गर्न नपाउने व्यवस्था गरेको थियो । 

Read More