काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले लघुवित्त र मिटरब्याजपीडितहरु पुनःआन्दोलित भएकाले उनीहरूका माग सम्बोधन गरी न्याय दिन आवाज उठाएका छन् । बैठकको विशेष समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् रोशन कार्कीले मिटरब्याजपीडितहरु धेरै दिनको यात्रा गरेर न्यायको खोजीमा काठमाडौँ आएकाले तिनलाई न्याय दिन आग्रह गरे।
नेकपा (एमाले)का सांसद सुनिता बरालले पीडित नागरिक आफ्ना माग बोकेर सरकारलाई सुनाउन हप्तौँ हिँडेर काठमाडौँ आउनु दुःखको कुरा भएको बताए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद नारायणी शर्माले गुठी, वन, विद्यालयलगायत विभिन्न खालका जमिनमा जनताले भोगचलन गर्दै आएकाले उनीहरूले आफ्नो जग्गाको जग्गाधनीपुर्जा लिन नपाएको बताए । उनले सङ्क्रमणकालीन न्यायका विषयलाई पनि छिटो टुङ्गो लगाउन माग गरे ।



