बाबुराम ढकाल
नेपालभन्दा झण्डै दुई तिहाई सानो नेदरल्याण्ड युरोपको सुन्दर र सम्पन्न देश हो । आकारमा सानो भएर पनि कुनै बेला सम्राज्य विस्तारमा बेलायत,जर्मनी र पुर्तगालीहरुकै हाराहारीमा रहेका नेदरल्याण्ड केही वर्षदेखि चरम आर्थिक समस्याबाट गुज्रिरहेको छ र त्यसलाई समाजवादी मोडलको अर्थनीति अपनाएर समस्या समाधान गर्ने प्रयास गरिरहेको छ ।
नेपाल र नेदरल्याण्डका धेरै कुरा मेल खाँदैनन् । तर, अर्थतन्त्रका केही विशिष्ट परिस्थितिहरु हुवहु मेल खान्छन् । जस्तो कि नेपालमा झैं त्यहाँको मुख्य बसोबासको क्षेत्र राजधानी अर्थात आर्मस्टडम हो । र, त्यहाँको मुख्य आम्दानीको स्रोत पर्यटन हो । तर, केही वर्षदेखि आर्मस्टडमा बसोबास गर्ने मानिसहरु घट्न थाले, मानिसहरु या त बाउ बाजेको पुर्ख्याेली घरमा गएर बस्न थाले, या त युरोप,अमेरिका र एशियाका अन्य देशहरुमा गएर बसोवास गर्न थाले ।
नेदरल्याण्डको अर्काे समस्या के छ भने नेपालमा जस्तो बाउ आमाले मन्जुरीनामा दिएको नाममा सहजै पुर्ख्याेली सम्पत्ति सन्तानको नाममा जाँदैन । त्यसको लागि सरकार अर्थात नगरपालिकाको सहमति लिनु पर्छ । सहमति लिने प्रकृयाको लागि कम्तिमा ४०-५० प्रतिशत कर तिर्नु पर्छ । त्यस्तै घर बनाइसकेपछि ‘मेरो घर हो,जे गरे पनि मेरो मर्जी’ भन्न पाइदैन, घर पूर्णरुपमा व्यवस्थित हुनुपर्छ । चुस्त दुरुस्त हुनु पर्छ । जस्तो रंग लगाएन, झ्याल ढोका फुट्यो, घर थोत्रो भयो भने घर मर्मत गर्नुस् भनेर नगरपालिकाले तपाईलाई सूचना दिन्छ । त्यति गर्दा पनि मर्मत गर्नु भएन भने नगरपालिका आफै आएर मर्मत गरिदिन्छ र जरिवाना सहितको सम्पूर्ण बील तपाईलाई पठाइदिन्छ । त्यो तिर्नु भएन भने जरिवाना बढ्दै जान्छ र निश्चित समयपछि त्यसलाई नगरपालिकाले आफ्नो नाममा नामसारी गर्छ ।



