पछिल्लो समयमा बैंकिङ क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरू भइरहेको र सामाजिक सञ्जालहरूमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरू प्रति ध्यानाकर्षण भएको बैंकरहरूले उल्लेख गरेका छन्।
नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।
प्रेस विज्ञप्तिमा भनिएको छ, 'सबै बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपकर्ताहरूको रकम पूर्ण रूपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख रूपैयाँसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत् सुरक्षण गरिएको स्मरण गराउँदछौं।'



