खराब कर्जा नउठ्दा लघुवित्त वित्तीय संस्थाको वित्तीय अवस्था विग्रदै गएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सबैजसो लघुवित्तको नाफा उच्च दरमा घटेको छ भने एक दर्जन बढी लघुवित्त घाटामा गएका छन्।
दोस्रो त्रैमासमा वित्तीय विवरण सार्वजनिक गरेका ५५ लघुवित्त वित्तीय संस्थामा ४६ वटा लघुवित्तले नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेका छन्। ९ लघुवित्तले मात्रै नाफामा सुधार गरेका छन्।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा लघुवित्त कम्पनीहरुको नाफा औसतमा ४८.८४ प्रतिशतले घटेको देखिन्छ। १४ वटा लघुवित्त वित्तीय संस्था घाटामा नै पुगेका छन्।
लघुवित्त कम्पनीहरुको नाफा घट्नुकाे मुख्य कारण कर्जा असुलीमा देखिएको समस्या नै हो। कम्पनीहरुको कर्जा असुलीमा समस्या आउदा खराब कर्जा बढ्दै गएको छ जसले गर्दा लघुवित्तहरुको नाफा घट्दो क्रममा छ।
- सबैभन्दा धेरै कमाउने साना किसान लघुवित्त
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा साना किसान लघुवित्तले सबैभन्दा धेरै ४४ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ। लघुवित्तले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १.७३ प्रतिशतले नाफा बढाएको हो।



