काठमाडौँ — लघुवित्तबाट लिएको ऋण कदापी मिनाहा नहुने भएकाले कुनै व्यक्ति वा समूहको कुरा सुनेर भ्रममा नपर्न अर्थमन्त्री प्रकाशशरण महतले आग्रह गरेका छन् । पछिल्ला महिनामा बैंक तथा वित्तीय संस्था, लघुवित्तलगायतबाट लिएको ऋण तिर्नुपर्दैन, हामी मिनाहा गराएरै छाड्छौं भन्दै अराजक गतिविधि बढिरहेका बेला अर्थमन्त्री महतले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘अहिले लघुवित्तमा केही समस्या देखिएको छ, यसलाई कसरी स्वस्थ बनाउने भन्ने सबैको चिन्ताको विषय हो । केही समस्यालाई देखाएर स्वार्थ समूहले खेल्ने प्रयास गरेको देखिएको छ,’ काठमाडौंमा शनिबार सुरु भएको चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन उद्घाटन कार्यक्रममा अर्थमन्त्री महतले भने, ‘यस्तो राम्रो क्षेत्रलाई राजनीतीकरण गर्न खोज्नेलाई कदापि सफल हुन दिने छैनौं ।’


