बढ्दो आर्थिक मन्दीले ब्यापार व्यवसाय ठप्प परेको बेलामा कर्जा लिंदाको बेला भन्दा बढी ब्याज तिर्नुपर्दा ऋणीहरु दोहोरो मारमा परेका छन्। जसले गर्दा बैंक वित्तीय संस्था तथा लघुवित्तका ऋणीहरु ऋण तिर्न नसकेर अहिले सडकमा नै ओर्लिएका छन्। अहिलेको डरलाग्दो र चिन्ताजनक अवस्थालाई व्यवस्थापन गर्नतर्फ लाग्नुपर्ने सीइओ र संचालकहरु व्यक्तिगत स्वार्थको लागि संस्थाको पैसा खर्चेर पछिल्लो समय स्वदेशमा हप्तेपिच्छे कार्यक्रम गर्ने तथा विदेश घुम्ने गरेको पाइएको छ।
नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई थप अनुशाशित र बलियो बनाउने पवित्र उदेश्यले खुद मुनाफाको तीन प्रतिशत तालिममा खर्च गर्न पाउने व्यवस्था गरेको छ। जसले गर्दा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त क, ख, ग र घ वर्गका सबै संस्थाहरुले वर्षमा करोडौं रुपैयाँ तालिम शिर्षकमा खर्च गर्दै आएका छन्।


