सिमरामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)को जग्गामा नयाँ औद्योगिक क्षेत्र बनाउने प्रक्रिया अघि बढेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई सेजको डी र ई ब्लकको ३११ बिगाहा जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई लिजमा उपलब्ध गराउने प्रक्रिया अघि बढाउन पत्राचार गरेपछि यो प्रक्रिया अघि बढेको हो । निर्यातलाई लक्षित गरी सेजको स्थापना भए पनि त्यहाँ उद्योगहरू जान खासै तयार नभएको अवस्थामा त्यसलाई औद्योगिक क्षेत्र बनाइनु उपयुक्त निर्णय हो । खासमा सिमरा सेजका केही ब्लकमात्र होइन, यहाँको र भैरहवाको सेजलाई पनि औद्योगिक क्षेत्रमा रूपान्तरण गर्दा राम्रो हुन्छ ।
चीनले विशेष आर्थिक क्षेत्र बनाएर निर्यातमा ठूलो उपलब्धि प्राप्त गरेकाले नेपालमा पनि सेज चाहिन्छ भनेर भैरहवामा त्यसको निर्माण गरिएको हो । तर, सेज स्थापनामै दशकभन्दा बढी विलम्ब भयो । त्यस्तै सेजका प्रावधानका कारण उद्योगीहरू त्यसमा आकर्षित नभएपछि सेजमा जाने उद्योगका लागि शर्तहरू खुकुलो बनाउनुपर्यो । सिमरा सेजमा पनि त्यस्तै समस्या आउने देखिन्छ । यही बेला औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सिमरा सेजको जग्गामा औद्योगिक क्षेत्र बनाउनेबारे प्रारम्भिक स्थलगत प्रतिवेदन बुझायो । सिमरा औद्योगिक क्षेत्रका लागि सबैभन्दा राम्रो ठाउँ भएको प्रतिवेदनको निष्कर्ष थियो । सबैभन्दा ठूलो नाका र समुद्री बन्दरगाहबाट सबैभन्दा निकट, व्यापारिक मार्ग, द्रुतमार्गलगायत पूर्वाधारले यो स्थान औद्योगिक क्षेत्रका लागि उत्तम रहेको देखिन्छ । त्यसैले सेजमै औद्योगिक क्षेत्र स्थापना हुँदा उद्योग स्थापना सहज हुने देखिन्छ । नेपालमा उद्योग स्थापनाका लागि जग्गा प्राप्ति सबैभन्दा ठूलो समस्या बन्दै गएको छ । कुनै पनि उद्योग खोल्ने हो भने उसले जग्गाकै लागि ठूलो रकम लगाउनुपर्ने अवस्था छ । जग्गाको भाउ निकै आकाशिएको छ । त्यस्तै कुनै उद्योग वा परियोजना आउन लाग्यो भन्ने थाहा पाएपछि स्थानीयले जग्गाको भाउ अचाक्ली बढाउँछन् । त्यसो हुँदा औद्योगिक वातावरण नै बन्न सकेको छैन । सरकारले यसको विकल्प खोज्न ढिला भइसकेको छ ।



