काठमाडौं : भारतीय बजार नियामक ‘सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) प्राइभेट इक्विटी र भेन्चर क्यापिटलहरुलाई आइपीओको मूल्य निर्धारण प्रक्रियामा सामेल हुन नदिने भएको छ । सेबीले आइपीओ जारी गर्न लागेका कम्पनीहरुलाई आफ्ना प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल सेयरधनी र सेयर बेच्न चाहने अन्य सेयरधनीहरुलाई मूल्य निर्धारणको निर्णय प्रक्रियाबाट हटाउन आग्रह गरेको भारतीय सञ्चार माध्यम मनि कन्ट्रोलले उल्लेख गरेको छ ।
सेबी स्रोतले सेयर बिक्री गर्ने उद्देश्यले लगानी गर्ने सेयरधनी (तथाकथित सेलिङ सेयरहोल्डर) को आइपीओको मूल्य निर्धारण र आइपीओको प्रदर्शनमा हुन सक्ने अनुचित प्रभावलाई कम गर्ने उद्देश्यले यो कदम चालिएको बताएको छ । यस्ता सेयरधनी वा लगानीकर्ताहरुले आइपीओको उच्च मूल्य सीमा निर्धारण गर्न दबाब दिएर आफ्नो लगानीमा अधिकतम प्रतिफललाई प्राथमिकता दिन सक्छन् भन्ने नियामकको धारणा छ ।





