काठमाडौँ — विभिन्न सहरमा सहकारी खोलेर बचत अपचलन गरेको सम्बन्धमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेउपर छानबिन थालेको छ । विभागले २० वटै वाणिज्य बैंकलाई पत्र लेखेर निजहरूको खाता छ कि छैन, भए कुन प्रकारको खाता छ ? खाता खोल्दाको रकम, कारोबारको विवरण, खाता खोल्दा पेस भएका कागजात र हालको रकमसमेत ‘एक्सेल’ फाइलमा खुलाएर पठाउन निर्देशन दिएको थियो ।
विभागको पत्रमा लालाचन्द्र लामिछानेका छोरा काठमाडौं–६ निवासी रवि लामिछाने र सुनकोशी–१, ओखलढुंगा बस्ने दीपहरि राईका छोरा जितेन्द्रबहादुर राई (जीबी राई) को बैंकिङ विवरण मागिएको छ । उनीहरूको खाता भएका बैंकहरूले विभागलाई विवरणसमेत दिइसकेका छन् । ‘सम्बन्धित व्यक्तिको खाता भएका बैंकहरूबाट विवरण आउन थालेको छ,’ विभागका एक अधिकारीले भने, ‘प्राप्त विवरणउपर छानबिन जारी छ ।’


