सहकारी संस्थाहरु बचत रकम नै फिर्ता गर्न नसक्ने गरि समस्यामा पर्नुका पछाडी सञ्चालकहरुको महत्वकांक्षा नै प्रमुख कारण रहेको पाइएको छ। पछिल्ला समयमा सहकारीमा परेका उजुरीको अध्ययन तथा अनुसन्धानमा यस्तो भेटिएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ।
सहकारी सञ्चालकहरुको तत्काल अर्बपति बन्ने महत्वकांक्षाले सहकारी संस्थाहरुमा समस्या देखिएको सीआईबीको निष्कर्ष रहेको छ। सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यका अनुसार अहिलेसम्म सीआईबीले अनुसन्धान गरेका सहकारीहरुमा देखिएको समस्याको प्रकृति हेर्दा सहकारी सञ्चालकहरुको रातारात धनी बन्ने महत्वकांक्षा नै समस्याको प्रमुख कारण हो।


