विराटनगर । सुनसरी प्रहरीले आइतबार सुनसरीको इनरुवाबाट १ करोड ८२ लाख ५१ हजार रुपैयाँको नेपाली नक्कली नोट बरामद गरेपछि प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार नक्कली नोटको धन्दा गर्नेहरू र उनीहरूको कनेक्सनको विषयमा गम्भीर अनुसन्धान सुरु भएको हो ।
प्रहरीले नक्कली नोटसहित भारतको बिहार राज्य सुपौल जिल्ला वीरपुर बस्ने २२ वर्षीय छोटु भन्ने महम्मद शैयद साफी पक्राउ गरेको छ । साफीले चलाएको बीआर ११ एक्स ३४२९ नम्बरको स्कारपियो चेकजाँच गर्ने क्रममा प्रहरीले उक्त रकम फेला पारेको थियो । इनरुवा नगरपालिका ४ स्थित सुनसरी खोलाको पुल नजिकबाट स्कारपियो चेकजाँच गर्दा नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ । तर, स्कारपियोमै सवार रहेका अर्का व्यक्ति भने भाग्न सफल भएका छन् ।



