काठमाडौँ — अब बैंक तथा वित्तीय संस्थाले संस्थागत निक्षेपकर्तालाई थप एक प्रतिशत बढी ब्याज दिन पाउने भएका छन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामार्फत व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याज अन्तर एक प्रतिशत मात्र कायम गरेपछि बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपमा थप एक प्रतिशत बढी ब्याज दिन पाउने भएका हुन् ।
‘संस्थागत मुद्दती निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिनेछ,’ मौद्रिक नीतिको समीक्षामा भनिएको छ । यसअघि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजअन्तर २ प्रतिशत थियो । हाल वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेकाले निक्षेपको ब्याजदर निरन्तर घटिरहेकाले थप घट्न नदिन व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याज अन्तर १ प्रतिशत बिन्दुले घटाइएको नेपाल राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए ।


