एजेन्सी । भारतमा कृषि उपजको उचित न्यूनतम समर्थन मूल्य लगायत माग राखेर विशाल प्रदर्शन गर्न लागेका किसान र सरकारबीचको वार्ता भंग भएको छ । वार्ता भंग भएसँगै मुख्यतः कृषि बाहुल्य पञ्जाब र हरियाणाका किसानहरूले विशाल प्रदर्शन गर्न दिल्ली कूच (दिल्ली जाने) फैसला गरेका छन् ।
किसान नेताहरू र सरकारी प्रतिनिधिबीच वार्तामार्फत समस्याको समाधान निकाल्ने प्रयास असफल भएको बीबीसी हिन्दीमा खबर छ । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले किसान आन्दोलन हुन नदिन यसबीच इन्टरनेट बन्द गर्नेदेखि किसान नेताहरूहरूलाई धम्की र प्रलोभन दिइरहेको थियो ।
यस अघि सन् २०२२ मा भएको किसान आन्दोलनले भारतीय वैश्य लोकतन्त्रको कुरुप अनुहार उदाङ्गो पारिदिएको थियो । विश्व मञ्चमा कट्टरपन्थी सरकारलाई थप बदनाम हुन नदिन प्रधानमन्त्री नरेन्द्र मोदीले किसानसँग वार्ता गर्न संघीय मन्त्रीहरूलाई नै खटाएका थिए ।



