काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३औं स्थापना दिवस मनाइरहँदा प्रमुख आयुक्त प्रेमकुमार राई आफ्नै मुद्दा तामेलीमा राखेर अन्य भ्रष्टाचार मुद्दाका विषयमा औंला उठाइरहेका छन् । नेपाल आयल निगमको जग्गामा अर्बौं भ्रष्टाचार गरेको अभियोगदेखि वाइडबडी जहाज खरिदमा भएको अनियमितताको विषयमा प्रमुख राई जोडिएका छन् ।
प्रमुख राईसहित जोडिएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान भइरहेका बेला तत्कालीन केपी शर्मा ओलीले २०७७ सालमा आयोगको प्रमुखमा नियुक्त गरेका थिए । उनको नियुक्तिपछि प्रमुख राई जोडिएका भ्रष्टाचारका फाइल तामेलीमा पठाइयो । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर संसदीय सुनुवाइ नगरी प्रमुख आयुक्त नियुक्ति भएपछि सोविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भई हाल विचाराधीन छ । अर्बौं भ्रष्टाचार भएको विषयमा अनुसन्धान भइरहेकै बेला तत्कालीन प्रधानमन्त्री ओलीले संवैधानिक प्रक्रिया मिचेर राईको नियुक्ति गरेका थिए ।



