काठमाडौँ — चालु आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर कर्जा करिब साढे १० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष प्रायः सबै महिना उच्च दरले घटेको सेयर कर्जा चालु आर्थिक वर्षको सुरुवातसँगै बढ्न थालेको नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले देखाएको छ ।
बैंक तथा वित्तीय संस्थामा तरलता पर्याप्त रहेको, ब्याजदर घट्दो क्रममा रहेको, लगानीका अन्य क्षेत्र (उद्योग व्यापार घरजग्गा आदि) अपेक्षित रूपमा सुधार हुन नसकेको, हालसम्मको उच्च विन्दुको तुलनामा सेयर बजार धेरै तल झरेकोलगायत कारण केही महिनायता सेयर कर्जा बढ्न थालेको जानकार बताउँछन् ।


