काठमाडौं– नियामक निकाय र बीमा कम्पनी दुवैले समयमा ध्यान दिन नसक्दा बीमा पोलिसी परित्याग (सरेण्डर) गर्नेको संख्या वर्षेनि बढ्दो क्रममा देखिएको छ । बीमा कम्पनीहरूले आफ्नो व्यवसायमा विश्वासको वातावरण बनाउन नसक्दा पोलिसी सरेण्डर गर्नेको संख्या बढेको हो ।
आर्थिक वर्ष २०७७–७८ मा ६३ हजार ३३१ वटा बीमालेख सरेण्डर हुँदा कम्पनीहरूबाट ९ अर्ब ८८ करोड रुपैयाँ फिर्ता भएको थियो । सो आवको तुलनामा आव २०७८–७९ मा बीमालेख सरेण्डर गर्नेको संख्या २९.२५ प्रतिशतले बढ्यो । सो आवमा ८१ हजार ८६० वटा बीमालेख सरेण्डर हुँदा १२ अर्ब १८ करोड रुपैयाँ फिर्ता भयो ।



