चालु आर्थिक वर्षको पहिलो ६ महिनामा जारी जीवन बीमालेखको संख्या गत वर्षको तुलनामा साढे २ प्रतिशतले घटेको छ । गत वर्ष पुस मसान्तसम्म १ करोड ४१ लाख ९ हजार १ सय ५ वटा जीवन बीमालेख जारी भएकोमा चालु वर्षको पहिलो ६ महिनामा १ करोड ३७ लाख ५५ हजार ३ सय ९६ वटा मात्रै जीवन बीमालेख जारी भएका छन् ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार यो गत वर्षको तुलनामा २ दशमलब ५१ प्रतिशतले कम हो ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँ जीवन बीमा शुल्क संकलन भएको छ । गत वर्षकाे समीक्षा अवधिमा ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ मात्रै जीवन बीमा शुल्क संकलन भएको थियो । यसरी तुलना गर्दा ३ जीवन बीमा शुल्क ३ दशमलब ५८ प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीहरुको संघ जीवन बीमक संघ नेपालका अध्यक्ष एवम् सिटिजन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक पौडेलले अर्थतन्त्रमा व्याप्त मन्दीकै असर स्वरुप जीवन बीमा कम्पनीले बिक्री गर्ने बीमालेखको संख्यामा गिरावट आएको बताए ।



