काठमाडौं : कैलालीको टीकापुर नगरपालिका-१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्षसहित २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा व्यक्तिको नाममा हस्तान्तरण गरेको आरोपमा नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेले तत्कालीन अध्यक्षलगायत पदाधिकारीहरूको मिलेमतोमा नक्कली रसिद बनाइ समितिका पदाधिकारी एवं कर्मचारीहरूको संलग्नतामा नगर विकास समितिको प्लट घडेरी आफन्तलगायत संघ/संस्थालाई उपलब्ध गराएको पुष्टि भएकाले समितिका तत्कालीन अध्यक्ष जोशीसहित २४९ जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जानकारी दिए।



