काठमाडौं : नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको महासङ्घ (आइएफआरसी) बीच साझेदारीको सुरुआत गरिएको छ ।
बुधबार यहाँ आयोजित एक समारोहबीच ‘जनताको रक्षाका लागि प्रकृतिमा काम गर्ने’ विषयका साथ विश्वव्यापी साझेदारीलाई पछ्याउँदै ती दुई संस्थाले रणनीतिक साझेदारीको थालनी गरेका हुन् । नेपालजस्ता विकासोन्मुख देशहरुमा बढ्दो जलवायु परिवर्तनको प्रभाव र मौसमसम्बन्धी प्रकोपलाई सम्बोधन गर्न तथा जलवायु सङ्कटको प्रकृतिमा आधारित समाधानबाट लाभ उठाउने उक्त साझेदारीको उद्देश्य रहेको छ । कार्यक्रममा डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले जलवायु सङ्कटको सामना गर्न वन्यजन्तु र जैविक विविधताको संरक्षण आवश्यक रहेकामा जोड दिँदै यसले मानिस र प्रकृतिको भविष्यसमेत सुनिश्चित रहने धारणा व्यक्त गरे। साथै उनले दुई संस्थाबीचको यस सहकार्यले संयुक्त प्रयासलाई सार्थक तुल्याउने बताए।



