मकवानपुर । साढे तीन महीनादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले सिमेन्टको पुनःउत्पादन शुरू गरेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यकपर्ने कच्चापदार्थ कोइलाको अभावमा विगत लामो समयदेखि सिमेन्ट उत्पादनलाई बन्द गर्नुपरेको उद्योग व्यवस्थापनले जनाएको छ ।
उद्योगमा आर्थिक संकट भएका कारणले बोलपत्र आह्वान गरी कोइला खरिद गर्न कठिनाइ उत्पन्न भएको सो उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए । उद्योग व्यवस्थापनले हालै बोलपत्र आह्वान गरिएको र वैकल्पिक उपायको अवलम्बन गरी हाल दुई चरणमा करिब १ हजार ८ सय मेट्रिकटन कोइला ल्याई सकिएको एवं अर्को चरणमा थप कोइला ल्याइने प्रक्रिया शुरू भइसकेको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले जानकारी दिए ।



