काठमाडौं- नेपाल वायुसेवा निगमले दुई वटा न्यारोबडी जहाज भाडामा लिनका लागि आज अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । मुलुकको पर्यटन प्रवर्द्धनमा सशक्त उपस्थिति देखाई विदेशी पर्यटकलाई समेत सेवा दिने उद्देश्यले दुईवटा न्यारोवडी जहाज भाडामा लिने निर्णयअनुसार बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ ।
“निगमको कार्ययोजना अनुरुप हाल निगमसँग रहेका दुई वटा वाइडबडी जहाज जापान, सिड्नी र दक्षिण कोरिया उडानमा प्रयोग भएका छन् । अन्य गन्तव्यको उडान चाप मौजुदा जहाजले धान्न नसक्ने भएकाले जहाज भाडामा लिन लागिएको हो । यसबाट दिल्ली, दुबई, दोहा, मलेसियालगायतका गन्तव्यको उडान चाप व्यवस्थापन गर्न सकिन्छ”, निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।



