बाह्य क्षेत्र थप बलियो बन्दै जाँदा केन्द्रीय बैंकलाई मौद्रिक नीति लचिलो बनाउन थप 'स्पेस' देखिएको छ। चालु खाता थप बचतमा पुगेको र शोधानान्तर बचत समेत बढ्दै गएको कारण अन्तरिक अर्थतन्त्र थप चलायमान बनाउन केन्द्रीय बैंकलाई लचक नीति लिन स्पेस बढेको छ।
चालु आर्थिक वर्षको पुस मशान्तसम्ममा चालु खाता १ खर्ब ६१ अर्ब ६२ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३५ अर्ब ५७ करोडले घाटामा रहेको थियो। मंसिरसम्ममा पनि चालु खाता १ खर्ब ४० अर्ब रुपैयाँले बचतमा थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २१ करोडले बचतमा रहेको छ ।
यसैगरी समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९२ अर्ब १५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ७४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको छ । मंसिरसम्ममा २ खर्ब १० अर्बले बचतमा रहेको शोधानान्तर स्थिति पुसमा मात्रै करिब ६३ अर्बले बचतमा देखिएको छ।



