काठमाडौँ — पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पछिल्लो एक महिनायता प्राथमिक निष्कासन (आईपीओ), थप प्राथमिक निष्कासन (एफपीओ), ऋणपत्र, हकप्रदलगायत धितोपत्रको अनुमति प्रक्रिया रोकिएको छ । अध्यक्ष नभएको बहानामा सेबोनले आईपीओ अनुमति रोकेको हो ।
गत पुस २० मा निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि सरकारले नयाँ अध्यक्ष नियुक्त गरेको छैन । धितोपत्र ऐनको व्यवस्थाअनुसार अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन भए पनि सोमबारसम्म त्यसले बोर्ड अध्यक्षको आवेदनका लागि सूचनासमेत निकालेको छैन ।


