काठमाडौं : सामान्यतया धितोपत्र अर्थात् पुँजीबजारमा लगानी गर्नेले यससँग सम्बन्धित निकाय वा बजार सहभागीबारे विस्तृत जानकारी राख्न आवश्यक छ। सेयर खरिदबिक्री प्रक्रियामा प्रवेश गर्नुअघि वा गरिसकेकालाई पुँजीबजारसँग सम्बन्धित संस्थाहरू कुनकुन छन् र यसले के गर्छन् भन्ने जानकारी लाभदायक हो। यसैले यहाँ पुँजीबजार सहभागी संस्थाहरू बारेमा चर्चा गरिएको छ।
विशेष गरेर बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारसँग सम्बन्धित संस्थाहरूको नियमन गर्ने भूमिकामा नेपाल धितोपत्र बोर्ड (सेबोन) रहेको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम बोर्डका काम, कर्तव्य र अधिकारहरू तोकेको छ। यसअनुसार बोर्डले पुँजीबजारको विकाससँग सम्बन्धित विषयका सम्बन्धमा नेपाल सरकारलाई आवश्यकतानुसार परामर्श दिने, धितोपत्र बजार, धितोपत्र व्यवसाय सञ्चालन अनुमति दिने, काम कारबाहीको नियमन तथा अनुगमन गर्ने र नियमानुसार कार्य गरेको नपाइएमा धितोपत्र बजारको अनुमतिपत्र निलम्बन वा खारेज गर्ने गर्छ। यसैगरी, बोर्डले धितोपत्र सार्वजनिक रूपमा निस्कासन गर्न सक्ने गरी स्थापना भएको संगठित संस्थाको धितोपत्र दर्ता गर्ने, दर्ता भएको धितोपत्रको निष्कासन, हस्तान्तरण, बिक्री र विनिमयलाई नियमित तथा व्यवस्थित गर्छ। यससँगै सामूहिक लगानी योजना तथा लगानी कोष कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिने तथा सोको नियमन र अनुगमन गर्ने जिम्मा बोर्डको हो। ‘धितोपत्र बजार तथा धितोपत्र कारोबारमा संलग्न धितोपत्र व्यवसायसँग सम्बन्धित संस्थाहरूको विनियम स्वीकृत गर्ने, धितोपत्र कारोबारसम्बन्धी हिसाब राफसाफ गर्ने कामलाई नियमित तथा व्यवस्थित गर्ने, धितोपत्र बजारको प्रवद्र्धन, सम्वद्र्धन र स्वच्छ सञ्चालनका लागि धितोपत्रको परिमाण र कारोबारको तरिकालाई नियमित गर्न आवश्यक व्यवस्था गर्ने गराउने, धितोपत्र लगानीकर्ताको हितको संरक्षण गर्नका लागि धितोपत्रको भित्री कारोबार वा धितोपत्र कारोबारसम्बन्धी अन्य कसुर हुन नदिन आवश्यक व्यवस्था गर्नेका धितोपत्र बोर्डको कार्यक्षत्र हो,’ ऐनले तोकेको छ।



