काठमाडौँ — यति बेला किसानले उत्पादन गरेको उखु चिनी मिलमा धमाधम क्रसिङ भइरहेको छ । सस्तोमा पाएपछि किसानको बारीमै पुगेर ठेकेदारले उखु किनिरहेका छन् । तर उद्योगीले क्रसिङकै सिजनमा ‘बिक्री बन्द’ भन्दै फ्याक्ट्री मूल्य बढाउन चलखेल सुरु गरेको होलसेल व्यवसायी बताउँछन् ।
उद्योगमा चिनी नभएको र सबै होलसेल पसललाई भाग पुर्याउनुपर्छ भन्दै उनीहरूले व्यवसायीलाई एकदुई दिन कुराइरहेका छन् । यही मौकामा चिनी उद्योगले मूल्य बढाउन थालेका हुन् । ‘रिलायन्स चिनी उद्योगमा चिनी माग्दा बिक्री बन्द रहेको भनियो । फ्याक्ट्रीमा चिनी छैन, २/३ दिन कुर्नुपर्छ भनियो । यो मूल्य बढाउने नीति हो,’ नाम उल्लेख गर्न नचाहने एक होलसेल व्यवसायीले भने, ‘एक महिनाअघि फ्याक्ट्री मूल्य ८५ रुपैयाँ थियो । एक साताअघि ८९ रुपैयाँ किलो रहेको चिनी अब फेरि बढ्ने देखिन्छ ।’


