काठमाडौं : पुँजीगत बजेट अर्थात् विकास खर्च यो वर्ष पनि सुस्त छ। जुन चालुु आर्थिक वर्षको आधाभन्दा बढी अवधि बितिसक्दा १९ प्रतिशत हाराहारी मात्र खर्च भएको छ। यस हिसाबले एक चौथाइ पनि काम भएको छैन। जसकारण अर्थतन्त्रले लय समात्न सकेको छैन। यस्तो अवस्थामा सरकार आगामी आव २०८१/०८२ को बजेट निर्माणको गृहकार्यमा जुटेको छ। अब कस्तो बजेट बनाउँदा सहज रूपमा कार्यान्वयन होला ? विज्ञ भन्छन्, ‘अब प्रणालीगत सुधार गरेर बजेट कार्यान्वयन गर्न जरुरी छ। नत्र बजेट निर्माण प्रक्रियामात्रै पुर्याएर झारा टार्ने काम गर्न हुँदैन।’
चालु आवको बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाखमध्ये पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड छ। तर, पुँजीगत बजेट हालसम्म ५७ अर्ब ७४ अर्ब ३३ लाखमात्रै खर्च भएको छ। जसकारण अर्थतन्त्रको चक्रमै सुस्तता छाएको छ। बजारमा पैसा पनि कम गएको अनुमान गरिन्छ। जसको चपेटामा निर्माण व्यवसायी, फलाम डन्डी उद्योग, सिमेन्ट उद्योगसहित निजी क्षेत्र र श्रमिक परेका छन्। उनीहरूको हातमा पैसा पुगेको छैन।



