काठमाडौं– मुलुकको निकासी व्यापार खस्किँदै जाँदा मूल्य अभिवृद्धिजन्य वस्तुकै निर्यात घट्दो क्रममा देखिएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार आर्थिक वर्षको सुरुका तीन महिनामा मूल्य अभिवृद्धि बढी हुने केही वस्तुको निर्यात बढेको थियो । तर पछिल्ला तीन महिनामा तिनै वस्तुको निकासी घट्न थालेको छ । असोजसम्म निकासी बढेको ऊनी गलैंचा, तयारी पोशाक, ऊनी फेल्ट, पोलिस्टर यार्नमध्ये तयारी पोशाकबाहेक सबैको निकासी घटेको छ ।
पुस मसान्तसम्म धागोको निकासी ३.५ प्रतिशतले घटेको छ । यस्तै ऊनी कार्पेटको ४.३ प्रतिशतले तथा जुट तथा जुटका उत्पादनको ६.५ प्रतिशतले निर्यातमा कमी आएको छ । यो अवधिमा ऊनी फेल्टका उत्पादनको निकासी ६.१ प्रतिशतले घटेको छ । यस्तै, कागज तथा कागजजन्य वस्तुको निकासी १३.२ प्रतिशत र हस्तकलाको निकासी १९.३ प्रतिशतले घटेको केन्द्रले जनाएको छ । पुस मसान्तसम्म सुनका गहनाको निकासी पनि ७८.१ प्रतिशतले घटेको छ ।



