मानिसका धेरै चाहना र आवश्यकता हुन्छन् । तिनलाई पूरा गर्ने मुख्य साधन पैसा नै हो । तर, आफूसँग भएको पैसालाई तरिका मिलाएर खर्च गर्न जानिएन र कमाउने उपाय खोजिएन भने ती चाहना र आवश्यकता पूरा गर्न सकिँदैन । त्यसैले सबै मानिसले वित्तीय साक्षरताको ज्ञान लिन आवश्यक छ ।
गरिबी मानवीय समस्या हो । मानिसको सकारात्मक सोच, विचार, कडा परिश्रम, खर्चमा अनुशासन र पैसाको व्यवस्थापनले गरिबी हटाउन सकिन्छ । व्यक्तिले आफ्नै प्रयासबाट गरिबी हटाउन सक्छ । नेपालको सन्दर्भमा यहाँको जनसंख्याको ठूलो हिस्सा अझै पनि औपचारिक वित्तीय सेवाबाट वञ्चित रहेका छन् । मुलुकमा अहिले पनि १८.७ प्रतिशतजति जनसंख्या गरिबीको रेखामुनि रहेका छन् र सो जनसंख्यालाई गरिबीबाट मुक्त गराउन आवश्यक छ । गरिबी र बेरोजगारीको यस्तो भयावह स्थिति र वित्तीय सेवाको न्यून पहुँचको अवस्थाबाट मुक्तिका लागि वित्तीय साक्षरता अपरिहार्य छ ।



