काठमाडौँ — गत वर्षको असोजको तुलनामा यस वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थामा खुलेका रेमिट्यान्स खातामा निक्षेप दोब्बर बढी भएको छ । ०७९ असोजसम्म रेमिट्यान्स खातामा ५६ अर्ब ७० करोड ८२ रुपैयाँ निक्षेप संकलन भएकामा गत असोजसम्म बढेर १ खर्ब १९ अर्ब ३६ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।
गत वर्षको असोजको तुलनामा यस वर्षको सोही अवधिमा रेमिट्यान्स खातामा निक्षेप करिब ११० प्रतिशतले बढेको देखिन्छ । गत असोजसम्म रेमिट्यान्स खातामा रहेको निक्षेप सोही अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेपको २.०२ प्रतिशत हो । ०७९ असोजमा कुल निक्षेप १.१० प्रतिशत रेमिट्यान्स खातामा रहेको थियो । गत असोजसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५९ खर्ब १४ अर्ब रुपैयाँ छ । यद्यपि अहिले निक्षेप बढेर ६१ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ ।


