सरकारको थिंक ट्यांकको रुपमा रहेको नीति अनुसन्धान प्रतिष्ठानले स्टार्टअप कम्पनीहरुको लागि आईपीओ निष्काशनको छुट्टै नियम ल्याउन सिफारिस गरेको छ । प्रतिष्ठानले स्टार्टअपहरुलाई आईपीओ मार्फत पुँजी जुटाउन अहिलेको भन्दा सहज व्यवस्था गर्न र स्टार्टअपहरु सुचिकृत भएपछि उनीहरुको प्रदर्शन हेर्न सहज हुने गरि नेप्सेमा छुट्टै स्टार्टअप इन्डेक्सको विकास गर्न सरकारलाई सिफारिस गरेको हो।
भारतको बम्बई स्टक एक्सचेन्जमा जस्तै स्टार्टअपहरुको लागि छुट्टै इन्डेक्सको व्यवस्था गर्न प्रतिवेदनमा भनिएको छ। साथै स्टार्टअपहरुलाई आईपीओ निष्काशन गर्नको सहज चेक लिस्ट बनाएर सो चेकलिस्ट अनुसारको मापदण्ड पुर्याउनेलाई आईपीओ निष्काशन गर्न दिन प्रस्ताव गरिएको छ । न्युनतम चुक्ता पुंजी, पुंजी संरचना, नेटवर्थ, प्रति शेयर आम्दानी, सम्पति र दायित्व, संचालन आम्दानी लगायतका विषय सहितको मापदण्ड तोक्न सिफारिस गरिएको छ ।




