विप्रेषण भन्नाले विदेशमा रहेका व्यक्तिहरूले तोकिएको विदेशी मुद्रामा औपचारिक माध्यमबाट पठाएको रकमलाई जनाउँछ । यस्तो रकम विभिन्न उद्देश्य परिपूर्तिका लागि आएको हुन्छ । जस्तै नेपालबाट विदेश गएर श्रम गरेबापत कमाएको पैसा आफ्नो देश पठाउने र घरपरिवारको रेखदेखदेखि पालनपोषण र शिक्षा, स्वास्थ्यसम्मका कार्य गर्ने गरी पठाइन्छ भने अर्कातर्फ वस्तु तथा सेवा बिक्री गरेर समेत विप्रेषण रकम भित्र्याइरहेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकको विप्रेषण विनियमावली, २०७९ अनुसार यसरी रेमिटेन्स भित्यार्उने कम्पनीले विदेशबाट प्राप्त विदेशी मुद्रा वैधानिक स्रोतबाट प्राप्त भएको तथा गैरकानुनी रूपमा आर्जन गरी सम्पत्ति शुद्धीकरण प्रयोजनका लागि रेमिटेन्स भएको होइन भन्ने कुरामा यकिन गरी रेमिटेन्स भित्र्याएको हुनुपर्नेछ । साथै, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाहरूको पालना पनि गर्नुपर्ने हुन्छ ।



