झापा, कञ्चनपुर — धनुषाका महाराज साहले मिटरब्याजीको चंगुलमा परेर सर्वस्व गुमाएका छन् । अहिले उनीसँग न घर छ, न त जमिन । उनी परिवारसहित अहिले झिटीगुन्टा बोकेर मिटरब्याजीविरुद्धको आन्दोलनमा सामेल हुन झापा आएका छन् । ‘साहू–महाजन र लघुवित्तले जनतालाई धोका दिए, सरकारले पनि कर थोपेर लुटिरहेछ,’ उनले दुखेसो पोखे, ‘यो कष्ट सहन गाह्रो भएर सडकमा उत्रिएका हौं ।’
मिटरब्याजसम्बन्धी कानुन संशोधनको माग गर्दै ‘मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति’ ले मंगलबार पूर्वी नाका काँकडभिट्टा र पश्चिमी नाका गड्डाचौकीबाट ‘न्याय मार्च’ सुरु गरेको हो । आन्दोलनमा साहजस्ता धेरै पीडित मधेश प्रदेशका विभिन्न जिल्लाबाट झापा आइपुगेका छन् । मिटरब्याजीविरुद्धको आन्दोलनमा अहिले देशभरका ४८ भन्दा बढी जिल्लाका सर्वसाधारण आन्दोलित रहेको संघर्ष समितिले जनाएको छ ।


