काठमाडौं । बेरोजगारी र गरिबीले पिल्सिएका आम नेपाली युवाले २६ वर्षभित्र कति कमाउलान् ? देशभित्र राम्रै जागिर पाए बढीमा १० लाख रुपैयाँ । लाखौं/करोडौं रुपैयाँ कमाउनेगरी व्यवसाय नै गर्न त गरीबले कहाँबाट बीऊपूँजी जुटाउनु !
तर सप्तरी राजविराजका २६ वर्षीय डम्बर साहका हकमा यो सीमा लागू भएन । उनले २६ वर्षकै उमेरमा कम्तिमा डेढ अर्ब रुपैयाँ बराबर कारोबार गरे । तर अबैध कारोबार ! यस्तै कारोबारले अन्ततः साहलाई प्रहरी खोरमा पुर्याएको छ ।
ठगी, क्रिप्टो र नक्कली कम्पनी/व्यक्तिका १५ बैंक खाताबाटै शंकास्पद ढंगले डेढ अर्ब रुपैयाँ कारोबार गरेको भेटिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साहलाई पाँचथरबाट पक्राउ गरेको हो । दुई वर्षकै बीचमा उनले डेढ अर्ब रुपैयाँ बराबरको अवैध कारोबार गरेको देखिएको कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।



