काठमाडौं : भारत आगामी ३ वर्ष अर्थात सन् २०२७ सम्ममा ५० खर्ब (५ ट्रिलियन) डलर कुल गार्हस्थ उत्पादन (जीडीपी) सहित विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्न त्यहाँको वित्त मन्त्रालयले जनाएको छ । यस हप्ताको अन्त्यमा जारी हुने अन्तरिम बजेट अघि वित्त मन्त्रालयले उक्त प्रक्षेपण गरेको हो । सोमबार जारी गरिएको एक प्रतिवेदनमा भारतको वित्त मन्त्रालयले आर्थिक वर्ष सन् २०२४ मा ७% वा सोभन्दा माथिको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।
भारतको आर्थिक वर्ष अप्रिल १ मा सुरु भएर मार्च ३१ मा समाप्त हुन्छ । यदि, यो वर्षको लक्ष्य पनि पूरा भएमा भारतले लगातार तेस्रो वर्ष ७% को जीडीपी वृद्धि हासिल गर्ने सीएनबीसीले उल्लेख गरेको छ । भारतको हाल कुल गार्हस्थ उत्पादन ३७ खर्ब (३.७ ट्रिलियन) डलर रहेको छ । भारतका मुख्य आर्थिक सल्लाहकार भी अनन्थ नागेश्वरनले सरकारको लक्ष्य सन् २०४७ सम्ममा विकसित देश बन्ने बताएका छन् ।



