काठमाडौं– सरकारले वार्षिक बजेटमा वैदेशिक अनुदानको अंश उच्च राखे पनि त्यसअनुसार आउन सकेको छैन । चालु आर्थिक वर्षको बजेटमा ४४ अर्ब ९४ करोड रुपैयाँ अनुदान आउने लक्ष्य राखिएको छ । तर, वर्षको आधा समय अर्थात् पुससम्ममा २ अर्ब ७५ करोडमात्र अनुदान आएको छ । यो लक्ष्यको ५.५२ प्रतिशतमात्र हो ।
पछिल्ला वर्षमा वैदेशिक अनुदान क्रमशः घट्दै गएको अवस्थामा सरकारले त्यसैअनुसार वार्षिक बजेटमा रकम घटाएर राख्नुपर्ने हो । तर, बजेटको स्रोत मिलाउन यसको हिस्सा बढाएर राख्ने गरिएको छ । केही वर्षदेखि घट्दो अनुदान प्राप्तिको तथ्यांकले सरकारले हचुवाका भरमा रकम राखेको प्रष्ट हुन्छ । चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व असुली गर्न सरकार असफल भएको बेला वैदेशिक अनुदान पनि न्यून आएको छ । यसले सरकारको वित्त व्यवस्थापनलाई झनै चुनौती थपेको छ । अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले पछिल्लो समय अनुदान आउने क्रम घट्दै गएको जानकारी दिए ।



