काठमाडौं। उद्योग व्यवसायलाई आवश्यक ऋणका लागि बैंक, वित्तीय संस्थाको मात्र भर पर्नुपर्ने अवस्था अब अन्त्य हुने भएको छ । नेपाल राष्ट्र बैंकले ‘पियर टु पियर (पीटूपी) लेन्डिङ’ र ‘क्राउडफन्डिङ’ अवधारणा सार्वजनिक गर्दै नेपालमा पनि ऋणका लागि वैकल्पिक व्यवस्था खुला गर्न लागेको संकेत गरेको हो ।
विश्वमा प्रचलनमा आएको डेढ दशकपछि राष्ट्र बैंकले आर्थिक वर्ष (आव) २०७९/८० को मौद्रिक नीतिमा स्टार्ट–अप व्यवसायमा कर्जा पहुँच बढाउन पीटूपी लेन्डिङ र क्राउडफन्डिङसम्बन्धी अध्ययन गर्ने घोषणा गरेको थियो । घोषणा भएको २ वर्षपछि आइतवार केन्द्रीय बैंकले पीटूपी लेन्डिङ र क्राउडफन्डिङबारे अवधारणापत्र सार्वजनिक गर्दै कर्जाको पहुँच बढाउन र साना तथा मझौला उद्योगको लगानीका लागि स्रोत जुटाउन उपयुक्त हुने बताएको छ ।



