२० वटा वाणिज्य बैंक मध्ये १२ वटाले शेयरधनीहरुलाई लाभांश वितरण गरे । तर, अहिलेसम्म लाभांश वितरण गर्न नसक्ने बैंक ६ पुगेका छन् । लाभांश घोषणा गर्न अब नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कृषि विकास बैंक मात्र छन् । ती दुई बैंकले लाभांश वितरण गर्ने हुन कि होइनन्, त्यो भने अझै अन्योल नै छ ।
घोषणा गर्न बाँकी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कृषि विकास बैंकले लाभांश स्वीकृतिका लागि फाइल नेपाल राष्ट्र बैंक पुर्याएका छन् । राष्ट्र बैंकले आगामी सातासम्म फाइल पुनः बैंकमा फिर्ता गर्ने छ । त्यसपछि लाभांश वितरण वितरण गर्न सक्ने वा नसक्ने बिषयमा सञ्चालक समितिले निर्णय गर्ने भएको छ ।
राष्ट्र बैंकमा पेश गरेको डकुमेन्ट आएपछि लाभांश वितरण गर्ने वा नगर्ने भन्ने कुराको निर्णय सञ्चालक समितिले गर्नेछ,’ कृषि विकास बैंकका एक उच्च कर्मचारीले भने, ‘फागुनभित्रमा वार्षिक साधारणसभा गर्ने गरी काम भइरहेको छ ।’
नेपाल इन्भेष्टमेन्ट मेगा र कृषि विकास बैंकका शेयरधनीहरु लाभांश पाउने अपेक्षा गरिरहेका छन् । तर, यी दुईवटा बैंकले शेयरधनीलाई लाभांश वितरण गर्नेमा शंका व्यक्त गरिदै आएको छ ।
सरकारी पूर्ण स्वामित्वको राष्ट्रिय वाणिज्यले समेत ५.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत बैंक भने होइन् ।
नेप्सेमा सूचीकृत १९ वटा वाणिज्य बैंकमध्ये अझै २ वटाले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गर्न बाँकी छन् । अहिलेसम्म ११ वटाले वितरण गरिसकेका छन् भने ६ वटाले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् ।
वाणिज्य बैंकमध्ये एनआइसी एसिया, माछापुच्छ्रे, एभरेष्ट, सानिमा, लक्ष्मी सनराइज, नेपाल एसबीआई, ग्लोबल आइएमई, नबिल, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ र सिटिजन्स बैंकले लाभांश दिएका छन् ।



